बुटवल-बढ्दो सहरीकरण र खेतीयोग्य जमिन मासिंदै गइरहेका बेलामा बुटवलमा भने सहरी कृषि कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
बेमौसमी तरकारी खेतीलाई व्यवसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर सुलभ ऋण अनुदानसम्मका कार्यक्रमहरु बुटवलमा सचालित छन् ।
बुटवलमा जनप्रतिनिधि चुनिएपछि सार्वजनिक जग्गाको खोजी, लगत संकलन हुँदै संरक्षण तथा बहुउपयोगसम्मका कामलाई प्राथमिकता दिइएको हो । यसैक्रममा खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिने बरु थोरै भएपनि अनुदानको व्यवस्था गर्न थालिएपछि किसानहरुमा हौसला समेत बढेको छ ।
जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा कांक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्शानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिरहेको छ । त्यस्ता ठाउँमा जग्गा भाडामासमेत लिएर किसानलाई खेतीमा प्रोत्साहन गरिएको छ । ग्रीन हाउस निर्माण गरेर किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको छ ।
त्यसरी उत्पादन गरिएको तरकारीमा सकभर जैविक मल नै हाल्ने र किटनाश विषादी पनि जैविक नै बनाएर हाल्न लगाइएको छ । जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको छ ।
घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाउने र जग्गा भाडामा लिएर खेती गरिरहेकालाई दुबै पक्षका बीचमा छलफलका कार्यक्रमसमेत सञ्चालन गराउनेसम्मका कामलाई बुटवलले अगाडि बढाइरहेको छ |
किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
सहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ । बुटवल–११ नहरपुरका किसान आत्मराप सापकोटाले करिब दुई विगाह जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
पत्नीसंगै दुई जनाको मेहनतले उनीहरुले बार्षिक पाँच लाखसम्मको आम्दानी गर्दै आएका छन् । उनीहरुका लागि बुटवलले गत वर्ष नै एउटा ग्रीन हाउस निर्माण गरिदिएको थियो ।
यस्तो छ यो साताको मूल्यसूचि
१.टमाटर प्रति के जि रु ५०–७०/-
२.सिमि प्रति के जि रु ७०/-
३.काक्रो प्रति के जि रु ४०/-
४.भाण्टा प्रति के जि रु ३०/६०/-
५.च्याउ प्रति के जि रु २५०/-
६. बन्दा प्रति के जि रु ३०/-
यो वर्ष नयाँ कार्यक्रममा समेत उनलाई समावेश गर्ने तयारी छ । सहरी तरकारी खेती प्रवर्द्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने पहल भइरहेको प्रमुख सुवेदीले बताए । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित र आधुनिक गर्ने विकल्पमा केन्द्रित रहेको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवलले सुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्याकंन गर्दै उनीहरुलाई पायक पर्ने सहकारी मार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ ।
यो कार्यक्रमबाट बुटवलका सयौं किसानहरु प्रत्यक्ष लाभान्वित भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । कौसी खेतीबाट उत्पादित तरकारी तथा फलफूलहरू तुलनात्मक रूपमा ताजा र स्वस्थ हुने गर्दछ । कौसी खेतीमा भान्छामा खेर गएका पानी र आकासे पानीको प्रयोग गर्ने र भान्छाबाट निस्किने कुहिने वस्तुहरूबाट प्राङ्गारिक मल बनाउन समेत सिकाइएको छ ।
घरेलु प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सापेक्षित आद्रता, तापक्रम, माटोको पीएच आदि बदलेर गरिने खेतीलाई बेमौसमी खेती भनिन्छ । बेर्ना उत्पादन र खेती प्लास्टिक टनेलभित्र गर्ने तरिकामा वृद्धि भइरहेको कृषि शाखा प्रमुख सन्तोष जिसीले बताए।
मौसमी उत्पादनको तरकारी बजारमा नआएको समयमा बेमौसमीबाट उपलब्ध गराउने गरि किसानहरुलाई थोरै अनुदान दिइएको र सहकार्य जारी राखिएको जिसीको भनाइ छ । बुटवलले किसाहरुका लागि फलामबाट निर्माण गरिएका टनेलहरू बनाउन सहयोग गरेको छ । यस्तो टनेल टिकाउ हुने र काम गर्न सजिलो हुने बुटवल–१२, तामनगरका किसान यमबहादुर थापाले बताए ।
बेमौसमी खेतीमा आधुनिक औजार–मेसिन, उन्नत बीउबिजन, विषादी, मल, थोपा सिंचाईलगायतका प्रविधिहरूको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै उपमहानगरका प्रमुख सुवेदीले परम्परागत खेतीको विकल्प व्यवसायिक खेती हो भन्ने कुरालाई बुझाउने काम भइरहेको बताए।
यस वर्ष मात्रै बुटवलले कौसी खेतिका लागि तीन सय जनालाई तालिम दिएको छ । यसअघि तालिम लिएकाहरुले उत्पादन गरेर बजारमा पठाइसकेका छन् । उनीहरु टोलविकास संस्थाबाट छनौट भएका थिए । अधिकांश भारतीय उत्पादन विक्री वितरण हुँदै आएको बुटवलको तरकारी तथा फलफूलको थोक कृषि उपज केन्द्रमा पछिल्लो समयमा स्थानीय उत्पादन पनि जुट्ने गरेको छ ।
यो केन्द्रमा सामाजिक दूरी कायम नभएको, भारतीय व्यापारीहरु समेत आएर अनावश्यक भीडभाड बढेको भन्दै बुटवलले बन्द गराएको छ । असुरक्षा महसुश गर्दै केही समयलाई बन्द गराइएको छ । उपमहानगरले यहीँ बेलामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न मूल्यसूचि र ताजा उत्पादनसहित किसानहरुको सूचीी सार्वजनिक गरेको हो ।
खेतीयोग्य ठाउँमा व्यवसायिक रुपमा र खेतबारी नभएका ठाउँमा घरको छत तथा कौसीमा फलाइएका विभिन्न जातका तरकारीलाई बुटवल उपमहानगरपालिकाले प्रवद्र्धन गरिरहेको छ ।
टनेलका माध्यमबाट बेमौसमी र कौसीमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएका किसानलाई व्यवसायिक बन्ने अवसर सिर्जना भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको विश्वास छ ।
मूल्य सूचिसहितका ताजा तरकारी बोकेर उत्पादकहरु घरघरमा अहिले लकडाउनको कारण तरकारीजन्य उपजमा कमी भएको गुनासो आइरहेका बेला बुटवलमा भने नौलो कामको सुरुआत भएको भन्दै बुटवलको प्रसंसा भएको छ ।
मूल्यसूचि र उत्पादनको भने नियमित अनुगमन गर्नुपर्ने केही अगुवाहरुले सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले मूल्यसूचिसहित उत्पादित ताजा हरियो तरकारी बेचबिखन गर्ने किसानहरुको सूचि नै सार्वजनिक गरेपछि केही विचौलियाहरुमा भने छटपटी भएको बताइएको छ ।
विभिन्न तरिकाले तरकारी उत्पादन गर्दै आएका उपमहानगरका किसानहरुको नाम, फोन नम्बर र उत्पादित बस्तुको विवरण उपमहानगरपालिकाले सार्वजनिक गरेको छ ।
संगसंगै उपमहानगरले कृषि उपजको मूल्यसूचि समेत सार्वजनिक गरिदिएको छ । सामाजिक दूरी कायम गर्दै सुरक्षित तरिकाले नगरका १९ वटै वडाहरुमा घर–घरमा नै तरकारी पु¥याउन मिल्नेगरि व्यवस्था मिलाइएको र अनुगमन पनि भइरहेको प्रमुख सुवेदीले जानकारी दिए।
उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी नेतृत्वको टोलीले यस्ता किसान तथा उनीहरुको उत्पदन र मूल्यकोसमेत अनुगमन गर्नेछन् ।
शाखा प्रमुख जिसीका अनुसार बुटवललगायतका आसपासका क्षेत्रमा उपभोक्ताको लागि आवश्यक परेको तरकारीजन्य बस्तु किसानलाई फोन गरेर सिधै मगाउन सक्ने छन् ।
यसको लागि किसान र उपभोक्ता हरुलाई विशेष सुरक्षा व्यवस्थापन गर्न भनिएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल कृषि उपज केन्द्रको सहकार्यमा तरकारीको संकलनको लागि मोवाईल भ्यानसमेत सञ्चालन ल्याएको कृषि शाखा प्रमुख जिसीले बतााए ।
मुख्य स्थानका लागि ताजा तरकारी मोबाईल भ्यानबाट तपसिलका कृषकहरुले सेवा लिएका छन् ।
यस्तो छ यो साताको मूल्यसूचि
१.टमाटर प्रति के जि रु ५०–७०/-
२.सिमि प्रति के जि रु ७०/-
३.काक्रो प्रति के जि रु ४०/-
४.भाण्टा प्रति के जि रु ३०/६०/-
५.च्याउ प्रति के जि रु २५०/-
६. बन्दा प्रति के जि रु ३०/-
(पत्रकार अमृत गिरिले तयार पार्नुभएको स्थलगत रिपोर्ट )