अन्तर्राष्ट्रिय श्रमिकदिवसका अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीद्वारा जारी शुभकामना सन्देश :
अन्तर्राष्ट्रिय श्रमिकदिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मानव संसाधानको सम्मान, संरक्षण, उचित प्रयोग गर्दै श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्र निर्माणको अभियान साकार हुन सकोस् भन्ने कामना समेत यहीँ अवसरमा गर्न चाहन्छु । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्ने संकल्प गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट ‘समृद्ध बुटवल खुशी जनता’ निर्माणको लक्ष्यमा केन्द्रित रहेका छौं ।
विभिन्न समयमा राजनीतिक आन्दोलन र जनक्रान्तिहरुबाट नै मुलुकमा राजनीतिक अधिकार प्राप्तिको लडाइँ पूरा भएको हो । राजनीतिक अधिकार प्राप्तिको लडाइँ पूरा भएर्संगै आर्थिक, सामाजिक विकासका कामलाई अगाडि बढाउन बुटवलमा आवधिक र दीर्घकालीन योजनाहरु अगाडि सारिएको छ । ती योजनालाई साकार पार्नका लागि तथा श्रमशक्तिलाई अर्थतन्त्र र पूर्वाधार विकासमा लगाउनु पर्नेछ । श्रमजीवी वर्गको जीवनस्तर उकास्ने र आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने छ । बुटवलमा हामीले मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला उद्यमशीलता कार्यक्रमलाई सञ्चालनमा ल्याएका छौं । युवालाई सीप सिकाउने र सीप अनुसारको कामको व्यवस्था मिलाउँदै त्यसलाई सम्मानित बनाउने काममा बुटवल उपमहानगरपालिका केन्द्रित रहेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।
यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । अहिलेसम्म हामी बुटवलबासी सबै नागरिक सुरक्षित छौं तर, महामारीको जोखिमबाट मुक्त भने भइसकेका छैनौं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुमा अफ्ठेरो अवस्था सिर्जना भएको छ । यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन् भनेर बुटवल उपमहानगरपालिका हरदम सक्रियताका साथ लागेको छ । विभिन्न चरणमा राहत वितरण गरिरहेका छौं । सम्पूर्ण श्रमजीवीवर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १) को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
–शिवराज सुवेदी
प्रमुख, बुटवल उपमहानगरपालिका