२० वैशाख, काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले सचिवालय बैठक ५ः३० बजे बोलाइएको जानकारी दिए ।
विपक्षी दलको समेत साथ लिएर सरकार ढाल्ने खेलमा लागेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीको राजिनामालाइ बटमलाइन बनाएका छन । उनीहरूले पछिल्लो २४ घण्टाको बीचमा पार्टी भित्रको गुटका नेताको अलवा विपक्षी दलका केही नेताहरूसँग समेत भेटघाट गरेर रणनीति तयार गरेका छन । माफिया र दलाहरूको इच्छामा सरकारले काम नगरेपछि प्रचण्ड नेपाल समूह सरकारविरूद्ध मोर्चाबन्दीमा छ । वरिष्ठ नेता नेपाल निकटका स्थायी समिति सदस्य रघुजी पन्तले त एक टेलिभिजन अन्तर्वार्तामा नै प्रचण्ड र नेपाललाइ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजिएकोले अन्तरकलह सुरू भएको बताएका छन ।
सरकारविरूद्ध सतहमा देखिने गरी घेराबन्दी गर्नुअघि प्रचण्डले राप्रपाका एक जना नेताको घरमा भारतीय दूतावासका द्धितिय सचिवसहित कांग्रेसका नेतासँग बैठक गरेर सरकार ढाल्ने रणनीति बनाएका थिए । जुन कुरा समेत सञ्चारमाध्यमहरूबाट सार्वजनिक नै भैसकेको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजनिनामा दिनुपर्ने भन्दै उनीहरूले सचिवालय बैठकमै चर्को स्वरमा आवाज उठाउने तयारी गरेका छन । त्यसका लागि कोटेश्वर खुमलटारमा पटक पटक बैठक र छलफलहरू भएका छन ।
यसअघि प्रचण्ड नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष बामदेव गौतमले भने प्रधानमन्त्रीलाइ तत्काल हटाउन नहुने निषकर्ष निकालेका छन । उनले आफू प्रधानमन्त्री हुने निश्चित भएपछि मात्र ओलीले राजिनामा दिनुपर्ने भन्दै आफ्ना निकटकाहरूसँग छलफल समेत चलाएका छन ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने उक्त बैठकका एजेन्डाका विषय भने केही पनि बाहिर आएका छैनन् । सामान्यतया सोमबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आइतबार नै बोलाइएकाले कुनै महत्वपूर्ण निर्णय गर्न लागि डाकिएको हुन सक्ने अनुगमान गरिएको छ ।