जितगढी न्युज,
२९ बैशाख बुटवल
परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।
परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।
यता प्रदेश न ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली स्थाई कमिटी सदस्य शन्कर पोख्रेलले नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा सिमामा तारवार गर्नु पर्ने माग गम्भीरताका साथ उठाउन पर्ने सुझाएका छन | सिमा बिवाद संगै कोरोना जस्तो महामारीमा समेत खुल्ला सिमाना समस्या भएको बताउदै सिमा क्षेत्र नियन्त्रण गर्न तार वार आवस्यक भएको बताएका हुन |
मुख्यमन्त्री माननीय शंकर पोख्रेलको फेसबुक पोस्ट :
पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो । कोभिड १९को महामारीका विरुद्धको लकडाउन र सिमा नाका वन्दगर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको छ ।पछिल्लो समय नेपालमा कोभिड १९ का संक्रमितहरु वढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो ।भंसारविन्दुका नाका वाहेक अरु ठाउवाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने थियो । तसर्थ सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भारत बीचकाे सिमानामा तारवारगर्नु आवश्यक छ। नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ ।सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद ।