डायलिसिस सहित सबै सेवा सन्चालनमा
२७ चैत्र, बुटवल
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले विगत दुई हप्ताअघिदेखि लकडाउन घोषणा गरेको छ । धेरैजसो निजी अस्पतालहरु विरामी लिन समेत हिच्किचाइरहेका छन् । तर बुटवलस्थित सिद्धबाबा सुपरस्पेशालिस्ट हस्पिटल एण्ड रिसर्च सेन्टरले लकडाउनको समयमा पनि मृगौला रोगीहरुका लागि नियमित रुपमा डायलिसिस् सेवा प्रदान गरिरहेको छ । लकडाउनको समय भए पनि मृगौला बिरामीहरुका लागि डायलिसिस् एकदमै आवश्यक हुने भएकाले नियमित रुपमा डायलिसिस् सेवा सञ्चालन गरिरहेको अस्पतालका सञ्चालक तथा मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले जानकारी दिए । देशलाई अप्ठेरो परेको अवस्थामा आवश्यक सहयोग पु¥याउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै डा. बस्नेतले जस्तोसुकै कठिन अवस्थामा पनि सिद्ध बाबा अस्पतालका चिकित्सकहरु विरामीलाई सेवा गर्न तयार रहेको बताए ।
बिरामीलाई समस्या नहोस भनेर अस्पतालले डायलिसिस् गर्न आवश्यक केमिकलको अभाव र काठमाडौंबाट ल्याइपुर्याउन समस्या भएपनि सेवा भने नरोकेको डा बस्नेतले जानकारी दिए । ‘अहिले लकडाउनका कारण एक त डायलिसिस् लागि आवश्यक केमिकल नै पाउन गाह्रो छ, अर्कोतिर काठमाडौंबाट ल्याइपुर्याउनुपर्छ । तर, पनि हामीले विभिन्न समस्या झेलेर भएपनि बिरामीका लागि नियमित सेवा दिइरहेका छौं’, बस्नेतले भने ।
पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा रहेको यो अस्पतालले विभिन्न रोग तथा समस्याको समाधान गरी सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बुटवलको राजमार्ग चौराहबाट ५०० मिटर पूर्व बुटवल मण्डप अगाडि रहेको सिद्धबाबा हस्पिटलले गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको सञ्चालक डा बस्नेत बताउँछन् ।
बहु विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको अस्पतालमा ओपिडी, २४ सै घण्टा इमरर्जेन्सी, फार्मेसी, प्याथोलोजी, प्रसुती सेवा, आईसियू।, सिसियु सुविधा सम्पन्न एसी सहितको जनरल वार्डलगायत अन्य सेवा सुविधा रहेका छन् । अस्पतालले गरिब, असहाय, अशक्त तथा मध्यम वर्गिय स्तरको जनसमुदायलाई विशेष सुविधा प्रदान गर्दै आएको छ ।
हस्पिटलमा अत्याधुनिक प्रविधि तथा विशेषज्ञबाट गुणस्तरीय सेवा प्रदान गरिरहेको पनि डा बस्नेतले जानकारी दिए । यसैगरी अस्पतालले विभिन्न संस्था तथा निकायको समन्वयमा निशुल्क स्वास्थ्य शिविरमार्फत हजारौलाई सेवा प्रदान गरिसकेको छ ।