प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भन्दा आफ्नै पार्टीभित्रकाहरूले धेरै विरोध गरेपछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिनुपरेको बताएका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो।
सोही बैठकमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नुस् भने पनि आफ्नै पार्टीभित्रकाले बढी विरोध गरेको बताएको एक मन्त्रीले जानकारी दिए।
‘मैले देउवाजीसँग पनि कुरा गरेको थिएँ, उहाँले तपाईंकै पार्टीका नेताहरूले विरोध गरेपछि मैले केही नबोली बस्न मिलेन भन्नुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने,‘सरकारले काम गर्छ तर तपाईंकै पार्टीबाट विरोध भएर फिर्ता लिनुपर्छ भनिसकेपछि मेरो भन्नु त केही छैन तपाईंले आफ्नो प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।’
विपक्षी दलको नेताले यस्तो भने पनि आफ्नै पार्टीका नेताहरूले भैंसेपाटी खुमलटारमा भेला गर्दै विरोध गरेको प्रधानमन्त्रीको गुनासो थियो।
श्रोत : सेतोपाटी