बुटवल, बैशाख ११
शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था योगिकुटीले बुटवलबाट तिलोत्तमा नगरपालिका प्रवेश गर्ने योगिकुटी चोकमै अटोमेटिक सेनिटाईजर स्प्रे टनेल जडान गरेको छ ।
सडकमा सन्चालन हुने गाडीलाई ६ लेन सडकमै सेनिटाईज गर्ने प्रविधी सहितको स्प्रे टनेल जडान गरिएको हो | स्प्रे मेसिनमा जडान गरिएको सेन्सरले सडकमा गाडी आएको थाहा पाउने र मेसिनमार्फत अटोमेटिक स्प्रे गर्दछ |
मेसिन सडकमा यसअघि नै राखिएको प्रवेशद्धारमाथी जडान गरिएको छ भने सेन्सरले गाडी आएको थाहा पाएपछि सडकतर्फ स्प्रे गर्ने छ । स्प्रेको लागि सडकमाथी १२ वटा नोजल राखिएको र त्यहि नोजल मार्फत स्प्रे हुने छ ।
मेसिन जडान गरिएको १५ मिटरको दुरीमै गाडी आएपछि सेन्सरले थाहा पाउने र ३० सेकेन्डसम्म स्प्रे मार्फत सडकमा गुडिरहेको गाडी सेनिटाईज गर्ने सस्थाका कार्यलय प्रमुख ईनिनियर दिपक पाण्डेले जितगढी न्युजलाई जान्कारी दिएका छन ।
सडकमा गुड्ने गाडीको गति नियन्त्रण गर्न सो क्षेत्रमा बेरिकेट राखिएको र सडकको छेउमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरिएको छ । ट्यांकीमा लिक्विड क्लोरिन राखेपछि सेन्सरको माध्यमबाट चल्ने मोटरले तानेर गाडी स्प्रे गर्ने ईञ्जिनियर पाण्डेले जानकारी दिए ।
संस्थाका अध्यक्ष हरि तिवारीले तिलोत्तमा नगरपालिका क्षेत्र भित्र प्रवेश गर्ने सवारी साधन र यात्रुलाई सुरक्षित बनाउन संस्थाले स्प्रे टनेल जडान गरेको बताए । नगरपालिकाको उत्तरतर्फको प्रवेशद्धारमा राखिएको स्प्रे टनेलको सफल परिक्षणसंगै दक्षिणतर्फको प्रवेशद्धार कोटिहवामा नगरपालिका आफैले लगानी गरेर मेसिन जडान गरिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन।