बुटवल, २२ चैत्र । भारतीय तरकारी र फलफुलको ठूलो मात्रामा खरिद बिक्री गर्ने बुटवल कृषि थोक बजार केन्द्र अन्तत बुटवल उपमहानगर पालिकाले बन्द गर्ने निर्णय गरेको छ । एबिसी न्युजले भारतीय तरकारी र फलफुलका गाडीले कोरोना भाईरस भित्राउन सक्ने भन्दै गरेको लगातारको बिषय उठान र सामाजिक सञ्जालहरुमा आएको ब्यापक गुनासो आएपछि उप महानगरले मापदण्डअनुसार किनमेल नभएको बहाना बनाउंदै केन्द्र बन्द गर्न निर्देशन दिएको छ । संघिय सरकारसंग मात्र रहेको भारतीय तरकारी रोक्ने अधिकार स्थानीय सरकारले प्रयोग गर्न नपाउने भएपछि मापदण्डको नाम दिएर बन्द गराईएको उपमहानगर श्रोतले बताएको छ । स्थानीय नागरिकहरुबाट समाजिक दुरी कायम नगरेको तथा अनावश्यक भिडभाड बढी बएको भन्ने गुनासो आएपछि उपमहानगरपालिकाले बुटवल कृषि थोक बजार केन्द्र बन्द गर्ने निर्देशन दिएको उपमहानगरले जनाएको छ ।
हरियो साग सब्जि तरकारिको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढि भिडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । सटरहरु बन्द गर्ने निर्णय गरिएपनि स्थानीय किसानहरुलाई चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियो सागपात र तरकारिको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ । उक्त केन्द्रमा दैनिक करिव ७००/८०० जना ब्यापारीको जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । केन्द्रमा धेरैजसो छिमेकि मुलुक भारतबाट तरकारी आउने गर्छ ।
बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाएपनि भारतबाट आउने तरकारी र फलफुलहरु रोक्न सकेको थिएन। विभिन्न सिमा नाकाबाट लुकिछिपी सामन ल्याउने र भिड जम्मा गर्न थालेपछि उपमहानगरपालिकाले तत्कालै बन्द गराएको हो । स्थान तोकेर स्थानीय उत्पादनका हरियो तरकारी सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर बेचबिखनको व्यवस्था मिलाइएको उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन भएनभएको समेत अनुगमन हुने बताउनुभयो ।
एबिसी न्युजले भारतीय तरकारी र फलफुलका कारण कोरोना जोखिम बढेको बिषयमा यस अघि पटक पटक खबरदारी गरेको थियो ।
होराइजन गौतम बुद्ध मा.वि.मा आई टी ट्रेनिङ् सन्चालन
माघ १८, तिलोत्तमाहोराइजन गौतम बुद्ध मा.वि.मा एक हप्ते एचटिएमएल, सि.एस.एस., जाभा स्क्रिप्ट तथा गिट बेसिक सम्बन्धी तालिम सुरु भएको छ । विद्यार्थीहरुलाई आई.टी. सम्बन्धी सैद्धान्तिक ज्ञानका अतिरिक्त रियल टाइम प्रयोगात्मक ज्ञान दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कम्प्यूटर विषयका विभागीय प्रमुख ई. अर्जुन अर्यालले जानकारी दिनुभयो । माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा कक्षा ११ मा कम्प्यूटर विषय अध्ययन गर्दै गरेका करिव २०० जना विद्यार्थीहरु सहभागी रहने छन । प्रम्ट स्किलका सि.ई.ओ. ई. दिपेन्द्र विष्ट, ई.बैजनाथ थारु, ई.बिशाल थापा र ई. कुशुम क्षेत्री स्रोत व्यक्तिका रुपमा तालिम सन्चालन हुनेछ | यसै बिच आज कलेजकै आईटि ल्याबमा आयोजना भएको उत्घाटन समारोहलाई सम्बोधन गर्दै डा. नारायणप्रसाद पन्थले ए.आई. को युग भएको हुँदा आई.टी. सम्बन्धी व्यवहारिक तालिमहरु विद्यार्थीहरुका लागि अपरिहार्य रहेको बताउनु भएको थियो । कम्प्युटर विषयका विज्ञ प्राध्यापक माधव अर्यालले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित गर्न नहुने भन्दै यो कार्यक्रमको आयोजना गरिएको र विद्यार्थीहरुले पुस्तकमा पढेका कुरा र आईटी सम्बन्धी अतिरिक्त ज्ञान हासिल गर्नेमा विश्वस्त रहेको कुरा बताउनुभयो । स्रोत व्यक्ति ई. दिपेन्द्र विष्टले विभिन्न स्कुल र कलेजहरुमा आफू र आफ्नो टिमले तालिम दिंदै आएको र तालिम उपलब्धिमूलक हुँदै आएको कुरा बताउनुभयो । कार्यक्रममा सहभागी छात्रछात्राहरुले आफूहरु यो तालिम लिन निकै उत्साहित रहेको बताएका थिए । होराइजन गौतम बुद्ध मा.वि.का प्राचार्य गोपाल प्रसाद आचार्यले विद्यार्थीहरुको व्यावहारिक सिकाइका निम्ति विद्यालयले लेखा तालिम, शेयर सम्बन्धी तालिम, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम, फुड फेस्टिभल, गायन आइडल, डान्स प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गरिसकेको र यस पटक आई.टी लाई प्राथमिकता दिंदै तालिम सुरु गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक डा.नारायण प्रसाद पन्थ लगायतको उपस्थिति रहेको थियो ।